क्रिकेट

नेपाली क्रिकेट दलालको हातमाः क्यान सदस्य लामा

इकागज |
पुस १९, २०७९ मंगलबार १०:२७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का कार्यकारी सदस्य छुम्बी लामाले नेपाली क्रिकेट दलाल र तस्करको कब्जामा गएको दाबी गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिगको सम्पूर्ण अधिकार क्यानले विदेशी (भारतीय) कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएको तर लिगमा एकपछि अर्को विवाद हुँदै गइरहेको भन्दै लामाले नेपाली क्रिकेट दलाल र तस्करको कब्जामा गएको दाबी गरे ।


‘अहिले नेपाल टी-ट्वान्टी लिग दिनानु दिन सोचे जस्तो नहुने, जे भनेर ल्याएको त्यो नहुने, योजना अनुसार नहुने, एकपछि अर्को विवाद आउने, आयोजनाको मिति ३-३ पटक परिवर्तन गर्ने, अक्सनमा परेका मध्ये ७० प्रतिशत खेलाडी नहुने, नेपालमै हुने फ्रेन्चाइज्ड क्रिकेटमा नेपाली खेलाडी तथा नेपाली सिनियर खेलाडीलाई कप्तान नबनाउनु नै बदनियतपूर्ण देखिन्छ । विदेशी खेलाडी पनि फर्किने तथा खेलाडीले पारिश्रमिक नपाउने जस्ता कुरा हेर्दा नेपाली क्रिकेट दलालको हातमा गइसकेको भान हुन्छ,’ लामाले इकागजलाई बताए ।

क्यान सदस्य लामाले नेपाल टी-ट्वान्टी लिगलाई लिएर नेपाली क्रिकेटको संरक्षण गर्न सम्बन्धित सरोकारवाला गम्भीर भएर अनुसन्धान गर्न जरुरी रहेको समेत दाबी गरेका छन् । लामाका अनुसार क्यानले क्रिकेटको आयोजना तथा व्यवस्थापन गर्नुपर्ने थियो ।

‘क्यानले नेपाल टी-ट्वान्टी लिग नभएर क्यान आफैँले नेपाल प्रिमियर लिग आयोजना गरेर यसको सम्पूर्ण अधिकार, आयोजना, व्यवस्थापन र सम्पूर्ण आर्थिक अधिकार आफैसँग राख्नुपर्छ भन्ने मेरो माग थियो । क्यानको निर्वाचन पछि नेपाल टी-ट्वान्टी लिगका लागि सेभेनथ्री स्पोर्टसलाई जसरी दिने सम्झौता लिएर उहाँहरु आउनुभयो त्यसबेला नै यो गलत हो भन्दै आएको थिए ।’

उनले क्यानले आयोजना गर्ने, यसको आर्थिक (फाइनान्सियल) अधिकार क्यानको हुनुपर्ने बताए ।‘तर प्रकृयाविना नै क्रिकेटको पृष्ठभूमि नै नभएको कम्पनी, त्यो पनि विदेशी कम्पनीलाई नेपाली क्रिकेटको आयोजनाको जिम्मा दिनु भनेको गलत रहेको लामाको भनाइ छ ।

उनले क्रिकेट अरु दलाललाई ठेक्कामा लगाइसकेपछि आएको विदेशी खेलाडी पनि फर्किने, खेलाडीले पारिश्रमिक नपाउने जस्ता कुरा हुने जनाए । ‘सम्बन्धित निकायले पहल चालेन भने नेपाली क्रिकेटमा पनि सट्टेबाज हुन सक्ने तथा नेपालको क्रिकेट पुनः आईसीसीले हेर्नुपर्ने अवस्था आउन सक्छ,’ लामाले थपे ।

बिराटनगर सुपर किंग्स तथा काठमाडौँ नाइट्सका खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै मंगलबार टस नै गर्न मानेन । यता अधिकांश टिमका खेलाडीहरुले पारिश्रमिक पाएका छैनन् । जसका कारण बिराटनगरका विदेशी खेलाडी सिकन्दर राजा घर फर्किएका थिए । कतिपय टिमका मालिकहरु सम्पर्क विहिन बनेको पनि चर्चा छ । तर आयोजकले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन । अब लिगमा १४ वटा खेल बाँकी छ । तर बाँकी रहेका खेल हुन्छन् कि हुन्‍नन् यसको जवाफ सायद क्यानसँग पनि छैन । 

 


Author

थप समाचार
x