नेपाल टी-ट्वान्टीः विराटनगरले एलिमिनेटर खेल्ने
काठमाडौँ- विराटनगर सुपर किंग्स नेपाल टी-ट्वान्टी क्रिकेट लिगको प्लेअफमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार आफ्नो अन्तिम खेलमा काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
विराटनगरले १० मध्ये ५ खेलमा जित हात पार्दै १० अंक जोड्यो । यता १० मध्ये चार खेलमा जित हात पारेको काठमाडौँको प्लेअफ पुग्ने वा नपुग्ने पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेडबीच आजै हुने खेलको नतिजाले निर्धारण गर्नेछ । समान ९ खेल खेलेका पोखराको ६ तथा फार वेस्टको ४ अंक छ । विराटनगरले अब एलिमिनेटर खेल्नेछ ।
शनिबार काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य बिराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको योगदान गरे । गौरान्शु शर्माले ५१ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । उसका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४-३४ रन तथा सन्दीप रजालीले ३० रनको योगदान गरे ।
विराटनगरका राज नननले सर्वाधिक ४ तथा नन्दन यादव र रोहित पौडेलले एक-एक विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया