क्रिकेट

सूर्यकुमारको शतकमा भारतलाई श्रीलंकाविरुद्धको सिरिज

इकागज |
पुस २४, २०७९ आइतबार ९:० बजे

काठमाडौँ - सूर्यकुमार यादवको शतकको मद्दतमा भारतले पाहुना टोली श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । भारतले ३ खेलको सिरिज २-१ ले जितेको हो । पहिलो खेल २ रनले जितको भारतले दोस्रो खेलमा १६ रनको पराजय भोग्यो । तर तेस्रो खेल भने भारतले ९१ रनले जित्दै सिरिजमाथि कब्जा जमायो ।

शनिबार राति राजकोटमा भएको तेस्रो खेलमा भारतले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै केवल १ सय ३७ रन मात्र जोड्यो । श्रीलंकाका लागि कुशल मेन्डिस र डासुन शानकाले समान २३-२३ रन बनाए ।


भारतका अर्शदिप सिंहले ३ तथा हार्दिक पाण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले समान २-२ विकेट चट्काए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन जोड्यो । भारतका लागि सूर्यकुमार यादवले ५१ बलमा अविजित १ सय १२ रन बनाए । उनले ७ चौका र ९ छक्का हिर्काए । शुभमन गिलले ४६ रन बनाए ।

श्रीलंकाका दिलसान मडुसान्काले २ विकेट लिए ।


Author

थप समाचार
x