क्रिकेट

बलात्कार आरोप लागेपछि करिअरमा सन्दीपले के-के गुमाए ?

इकागज |
पुस २९, २०७९ शुक्रबार १७:३० बजे

काठमाडौँ- १७ वर्षीय नाबालिगकलाई बलात्कार गरेको आरोपमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा सन्दीप लामिछानेविरुद्ध उजुरी परेको थियो । नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

त्यसअघि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि भदौ २३ गते नै नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गर्‍यो । क्यानको निर्णयपछि उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान पद गुमाए ।


पक्राउ पुर्जी जारी हुँदा लामिछाने भने क्यारेवियन प्रिमियर लिगका लागि वेस्ट इन्डिजमा थिए । बलात्कारको आरोप लागेपछि लामिछाने आवद्ध क्यारेवियन प्रिमियर लिग टिम जमैका तालाबाजले उनलाई टिमबाट निकाल्यो ।

त्यसपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नोभेम्बर १४ देखि १८ सम्म आयोजना भएको युनाइटेड अरब इमिरेट्सविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि लामिछानेले गुमाउनु पर्‍यो ।

युएईविरुद्धको सिरिजपछि डिसेम्बर २ देखि ८ तारिखसम्म नामिबियामा आयोजना भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय सिरिज पनि लामिछानेले खेल्न पाएनन् ।

उनले त्रिवि क्रिकेट मैदानमा डिसेम्बर २४ देखि जनवरी ११ सम्म भएको नेपाल टी-ट्वान्टी क्रिकेट लिग पनि खेल्न पाएनन् ।

त्यसबाहेक लामिछाने शुक्रबारबाट दुबईमा सुरु हुने पहिलो संस्करणको इन्टरनेसनल टी-ट्वान्टी लिग पनि गुमाउँदैछन् । आयोजक इमिरेट्स क्रिकेट बोर्डले उनलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको थियो ।


Author

थप समाचार
x