क्रिकेट

पीएम कप क्रिकेटः मधेशको पहिलो जित

इकागज |
माघ १, २०७९ आइतबार १५:३३ बजे

काठमाडौँ- मधेश प्रदेशले पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा आइतबार समूह ‘बी’ अन्तर्गत कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै मधेशले पहिलो जित हात पारेको हो ।

यसअघि पहिलो खेलमा मधेशले प्रदेश १ विरुद्ध ९ विकेटको पराजय भोगेको थियो । कर्णाली भने लुम्बिनीसँग ९८ रनले पराजित भएको थियो ।


आइतबार भएको खेलमा ८० रनको लक्ष्य मधेशले १० ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेशलाई जित दिलाउन अनुराधा चौधरीले सर्वाधिक ३८ रनको योगदान गरिन् । प्रतिमा साहले १८ रन बनाइन् । कर्णालीका लागि बिना थापाले २ विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन जोड्यो । कर्णालीका लागि तृष्णा विश्वकर्माले १५ तथा किरण कुँवर तथा अन्जु गुरुङले समान १३-१३ रन जोडे ।

मधेशकी भूमि सिंहले सर्वाधिक ४ विकेट तथा अमिरन निशाले २ विकेट हात पारे ।


Author

थप समाचार
x