क्रिकेट

आईसीसी लिग-२: घरेलु मैदानमा नेपाललाई ‘हार्ने छुट’ छैन

इकागज |
माघ २, २०७९ सोमबार १०:२७ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा नामबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ ।

उक्त सिरिज त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ तारिखसम्म आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले तालिका सार्वजनिक गरेको छ । जस अनुसार नेपालले पहिलो खेल नामिबियाविरुद्ध फेब्रुअरी १४, दोस्रो खेल स्कटल्यान्डविरुद्ध १७, तेस्रो खेल नामिबियाविरुद्ध १८ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध २१ तारिखमा खेल्नेछ ।


लिग अन्तर्गत शीर्ष ३ मा पुग्ने झिनो सम्भावना कायम राख्न नेपालले घरेलु मैदानमा ४ वटै खेल जित्नुपर्ने छ । लिग-२ को शीर्ष ३ मा हुने टोलीले २०२३ को एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउनेछन् ।

३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्ड भने शीर्ष ३ मा स्थान पक्का गरिसकेको छ । यता सबै ३६ खेल खेलेको ओमान ४४ अंक सहित तेस्रो स्थानमा छ । ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो, ३६ वटै खेल खेलेको अमेरिका ३५ अंकसहित चौथो, २६ खेलबाट २७ अंक जोडेको युनाइटेड अरब इमिरेट्स पाँचौ, २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौ तथा २८ खेलबाट जम्मा ५ अंक जोडेको पपुवा न्यूगिनी सातौं स्थानमा रहेका छन् ।

लिग-२ अन्तर्गत नेपालले अब केवल १२ खेल खेल्न बाँकी छ । शीर्ष ३ मा पुग्न नेपालले १२ वटै खेल जित्नुका साथै अन्य खेलको नतिजा पनि नेपालकै पक्षमा हुनुपर्नेछ ।

अर्कोतर्फ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाल शीर्ष ५ मा पर्नुपर्नेछ । पुछारको दुई टिमले एकदिवसीय मान्यता गुमाउने आईसीसीले जनाएको छ ।

तर पछिल्ला नतिजाहरु हेर्दा नेपालले बाँकी १२ वटै खेलमा जित हात पार्ने सम्भावना त्यति बलियो देखिँदैन ।

लिग-२ अन्तर्गत नै नामिबियामा गत डिसेम्बरमा नामिबिया, नेपाल र स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले ३ खेलमा पराजय भोग्यो भने एक खेलमा बर्षाका कारण अंक बाडेको थियो ।

फेब्रुअरीमा हुने सिरिजपछि नेपालले युएई र पपुवा न्यूगिनीसम्मिलित थप दुई सिरिज खेल्नेछ । ती दुई सिरिज भने नेपालका लागि केही सहज देखिए पनि खासगरी युएईविरुद्धको खेल भने जित्न कठिन हुने पक्का छ ।


Author

थप समाचार
x