क्रिकेट

क्रिकेट फिक्सिङः भारतीय नागरिक जतिनसम्म पुग्‍न सक्ला प्रहरी ?

इकागज |
माघ १०, २०७९ मंगलबार १०:४९ बजे

काठमाडौँ- गत जेठ ४ गते नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई पत्रकार सम्मेलनमार्फत घोषणा गर्दै गर्दा अधिकांश समय बेटिङ अर्थात् सट्टेबाजी तथा फिक्सिङका विषयमा केन्द्रित थियो ।

क्यानले लिगको ‘कर्मसियल स्ट्राटेजिक’ अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आठ वर्षको लागि ३३ करोड नेपाली रुपैयाँमा बेचेको सम्झौता गरेपछि सट्टेबाजी तथा फिक्सिङ हुन सक्ने आशंकाका प्रश्नहरू तेर्सिएका थिए ।


त्यसैपनि ‘कर्मसियल स्ट्राटेजिक’ अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बेच्ने कुराको विपक्षमा क्यानकै कतिपय सदस्यहरू रहेका थिए । तर क्यान अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको बहुमत सदस्यले कुनै पनि प्रतिस्पर्धा बिनानै उक्त अधिकार भारतीय नागरिक जतिन अलुवालियाको कम्पनीलाई बेच्ने सम्झौता गरे ।

तर कम्पनीका प्रमुख जतिनले तर सेभेन थ्री स्पोर्ट्स कुनै बेटिङ कम्पनी नभएको स्पष्टीकरण दिए । लिगका टिम चयन तथा टिमका लागि खेलाडी चयन गोप्य रूपमा गरिए । साथै लिगको मिति पटक-पटक सारिएपनि अन्ततः कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म सन्चालन भएको थियो ।

लिगको मुख्य प्रायोजकको रूपमा ‘वान एक्स ब्याट कम्पनी’ भए पनि उक्त कम्पनी बेटिङ गराउने ‘वान एक्स बेट’ कै सहायक कम्पनीको रूपमा रहेको आशंका गरिएको थियो । दुवै कम्पनीको लोगो तथा रंग हुबहु रहेको छ ।

साथै लिग सुरु हुँदादेखि समापनसम्म विवादै विवादले घेरिएको थियो । टिम मालिकले पारिश्रमिक नदिएको भन्दै खेलाडीहरू मैदानमा उपस्थित नहुने, काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नै टिमका खेलाडीलाई फिक्सिङका लागि सम्पर्क गरिएको तथा लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले फिक्सिङ भइरहेको सार्वजनिक रुपमा दाबी गरेका थिए ।

त्यतिबेलासम्म फिक्सिङको मुख्य योजनाकारको रूपमा दाबी गरिएका कम्पनी सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन भने भारत पुगिसकेका थिए ।

यति हुँदाहुँदै क्यानले भने लिगमा म्याच फिक्सिङ/स्पट फिक्सिङबारे भ्रामक तथा मिथ्या सूचना फैलाइएको दाबीसमेत प्रेस विज्ञप्ति जारी गरेको थियो ।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)सँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिक्सिङलाई लिएर अनुसन्धान गरिरहेका छन् ।

सिआइबीले भने महेबुब आलम तथा आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ । सिआइबीले फिक्सिङमा ८ देखि १० जना खेलाडीहरूको संलग्नता देखिएको दाबी गरेको छ । तर नाम भने सार्वजनिक गरेको छैन ।

सिआइबीले भने जतिनलाई मुख्य योजनाकारको रुपमा अनुसन्धानलाई अघि बढाइरहेको छ । उनको दौडधुप तथा खेलाडी र खेलकुदका पदाधिकारीहरूसँग गरेको भेटघाट तथा कुराकानीलाई आधार बनाएर पनि अनुसन्धान जारी राखेको छ ।


Author

थप समाचार
x