क्रिकेट

ओडीआईमा हजार रनको रेकर्डनजिक रोहित पौडेल

इकागज |
माघ २९, २०७९ आइतबार ११:४४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने संघारमा पुगेका छन् ।

नेपालका लागि ३२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितले ९ सय ४५ रन जोडिसकेका छन् । एकदिवसीयमा एक हजार रन पुरा गर्न रोहितलाई केवल ५५ रन आवश्यक छ ।


रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक तथा पाँचवटा अर्धशतक समेत प्रहार गरेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एक खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

उनले सर्वाधिक १ सय २६ रन बनाएका छन् । रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत चैतमा पपुवा न्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मदतमा १ सय २६ रन बनाए ।

नेपालका लागि शतक पुरा गर्ने रोहित तेस्रो खेलाडी हुन् । पूर्व क्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक पुरा गरेका छन् ।

रोहितपछि २६ खेल खेलेका ज्ञानेन्द्र मल्लले ७ सय ९ रन तथा २३ खेल खेलेका आशिफ शेखले ६ सय ५५ रन बनाएका छन् ।

नेपालका लागि एकदिवसीयमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि रोहित नै हुन् । रोहितले एक हजार रन पुरा गर्ने अवसर पनि त्रिवि क्रिकेट मैदानमा पाउने सम्भावना बलियो छ ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले चार खेल खेल्नेछ । जबकी रोहितलाई एक हजार रन बनाउन केवल ५५ रनको आवश्यकता छ ।


Author

थप समाचार
x