क्रिकेट

विश्वकप क्रिकेट लिग-२ : नेपालले भोलि नामिबियाविरुद्ध खेल्दै

कप्तान रोहित भन्छन्- प्रशिक्षक देसाईको आगमनले सबैजना उत्साहित छन्

इकागज |
फागुन १, २०७९ सोमबार १२:९ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु हुने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ ।

नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ९ बजेबाट सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डको सहभागिता रहेको छ ।


लिग-२ अन्तर्गत नेपालको यो २५ औँ खेल हुनेछ । यसअघि नेपालले खेलेको २४ खेलबाट १८ अंक जोडेको छ । नामिबियाका लागि यो ३१ औँ खेल हुनेछ । नामिबियाले ३० खेलबाट ३७ अंक जोडेको छ ।

नेपालमा हुने सिरिज अर्कोतर्फ स्कटल्यान्डका लागि लिग-२ अन्तर्गतको अन्तिम सिरिज हो । स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक जोडेको छ ।

सिरिजअन्तर्गत नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध शुक्रबार, तेस्रो खेल नामिबियाविरुद्ध शनिबार तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध आगामी मंगलबार खेल्ने तालिका रहेको छ ।

नेपाली टिमका कप्तान रोहित पौडेलले सिरिज निकै महत्वपूर्ण रहेको तथा यसका लागि उत्साहित रहेको बताएका छन् । यस सिरिजपछि नेपालले लिग-२ अन्तर्गत थप दुई सिरिज खेल्नुपर्नेछ ।

'बाँकी दुई सिरिज पनि यसै सिरिजको नतिजामा भर पर्छ । बाँकी रहेका १२ खेलमध्ये नौ खेल जित हात पार्नुपर्नेछ । मोन्टी देसाई प्रशिक्षक आएदेखि टिमको वातावरण एकदमै राम्रो छ । सबैजना उत्साहित छन् । प्रशिक्षक देसाइले सबैलाई मानसिकरूपमा तयारी अवस्थामा राख्ने लक्ष्य छ,’ रोहितले भने ।

रोहितले नेपाललाई घरेलु मैदानको फाइदा हुने विश्वाससमेत व्यक्त गरे ।

३२ खेलबाट सर्वाधिक ४६ अंक जोडेको स्कटल्यान्ड लिग-२ मा को शीर्ष स्थानमा रहँदै २०२३ को क्रिकेट विश्वकप छनोटका लागि समेत छनोट भइसकेको छ । शीर्ष ३ मा रहने टिम विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ र बाँकी दुई स्थानका लागि अझै प्रतिस्पर्धा जारी छ ।

लिग-२ अन्तर्गत ३६ वटै खेल खेलिसकेको ओमान ४४ अंकसहित दोस्रो, ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो, ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो, २६ खेलबाट २७ अंक जोडेको युएई पाँचौ, २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौ तथा २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी सातौ स्थानमा छन् ।


Author

थप समाचार
x