क्रिकेट

माइकल भानको शतकमा नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य

इकागज |
फागुन २, २०७९ मंगलबार १२:३२ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनायो ।

नामिबियाका ब्याटर माइकल भान लिन्गेनले शतक पुरा गरे । माइकल भानले १ सय ३७ बलमा १ सय ३३ रन बनाउँदा ९ चौका र ५ छक्का हिर्काए ।


माइकल भानको एकदिवसीयमा यो तेस्रो शतक समेत हो । उनले एकै खेलमा बनाएको यो सर्वाधिक रन पनि हो । माइकल भानले यसअघि सर्वाधिक १ सय २१ रन बनाएका थिए ।

जेरहार्ड इरासमस ५६ रनमा आउट भए । उनी लिग-२ मा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । इरासमसले १ हजार २ सय २२ रन बनाएका छन् । जान निकोल ८ लो-हान्द्रे लोउरेन्स ५, जान फ्रायलिन्क, रुवेन ट्रम्पेलम्यानले ११, पिक्की फ्रान्स २, १३ र कार्ल बिर्केनस्टोक १३ रनमा आउट भए । जेन ग्रिनले ३४ रनको योगदान गरे ।

नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट हात पारे । सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए ।


Author

थप समाचार
x