क्रिकेट

लिस्कको शतकमा स्कटल्यान्डले दियो नेपाललाई २७५ रनको लक्ष्य

इकागज |
फागुन ५, २०७९ शुक्रबार १२:३३ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन जोड्यो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले १ सय ७ रनको शतकीय योगदान गरे । एकदिवसीयमा उनको यो पहिलो शतक हो । उनले ७९ रनमै शतक पुरा गरेका थिए । ८५ बल खेलेका लिस्कले ३ चौका र ९ छक्का हिर्काए ।


ज्याक जार्भिसले २६ रनको योगदान गरे । ब्रान्डन म्याकमुलेन  र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रन, मार्क वाटले २० रन, कप्तान रिची बेरिङटन र टोमस म्याकिन्टोसले समान १९-१९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याएको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्ड पनि नामिबियाविरुद्ध हात पारेको पहिलो जितलाई निरन्तरता दिन चाहन्छ ।


Author

थप समाचार
x