क्रिकेट

लिग-२: च्याम्पियन स्कटल्यान्डमाथि नेपालको जित, कुशल र दिपेन्द्रको अर्धशतक

इकागज |
फागुन ५, २०७९ शुक्रबार १६:४१ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार च्याम्पियन स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले पनि नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।

शुक्रबार जितका लागि चाहिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो । जितसँगै २६ खेलबाट नेपालले २२ अंक जोडेको छ । स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ । यसअघि नै लिग-२ को च्याम्पियन बनेको स्कटल्यान्डले २ खेलमात्र खेल्न बाँकी छ ।


नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८५ रन तथा कुशल मल्लले ८१ रनको योगदान गरे । सोमपाल कामीले २४, कुशल भुर्तेलले १६, गुल्सन झाले १७, आशिफ शेखले ९, कप्तान रोहित पौडेलले ६ तथा ज्ञानेन्द्र मल्लले ४ रन बनाए ।

स्कटल्यान्डका लागि क्रिस सोलले ३ तथा मार्क वाट्टले ३ विकेट हात पारे । माइकल लिस्कले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन जोड्यो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले १ सय ७ रनको शतकीय योगदान गरे । एकदिवसीयमा उनको यो पहिलो शतक हो । उनले ७९ रनमै शतक पुरा गरेका थिए । ८५ बल खेलेका लिस्कले ३ चौका र ९ छक्का हिर्काए ।

ज्याक जार्भिसले २६ रनको योगदान गरे । ब्रान्डन म्याकमुलेन  र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रन, मार्क वाटले २० रन, कप्तान रिची बेरिङटन र टोमस म्याकिन्टोसले समान १९-१९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x