लिग-२ सिरिज : नामिबियाको लगातार चौथो हार, नेपाललाई फाइदा
काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाले लगातार चौथो हार भोगेपछि नेपाललाई फाइदा पुग्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नामिबियाले सिरिजको चौथो खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित हुन पुग्यो ।
पराजयसँगै ३४ खेलबाट नामिबियाले ३७ अंक जोडेर तेस्रो स्थानमा छ । नामिबिया पराजित भएपछि नेपालले लिगको शीर्ष ३ मा पुग्ने सम्भावना अझै कायम राखेको छ । २७ खेलबाट २४ अंक जोडेको नेपाल सात टिममध्ये छैटौं स्थानमा छ । नेपालले ९ खेल खेल्न बाँकी छ । यता लिग-२ को उपाधि जितिसकेको स्कटल्यान्डको ३५ खेलमा ५० अंक छ ।
सोमबारको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा १ सय ७८ रन मात्र जोड्न सक्यो । नामिबियाका लागि लो-हान्द्रे लोउरेन्सले ५२ तथा कप्तान जेरहार्ड इरासमसले ४३ रन बनाए । जेन ग्रिनले २५ रन जोडे । स्कटल्यान्डका लागि मार्क वाटले ४ विकेट, माइकल लिस्कले ३ विकेट, ब्रान्डन म्याकमुलनले २ क्रिस ग्रिभ्सले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २२१ रन जोड्यो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस माकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२ तथा लियाम नेयलरले २० रन बनाए । माइकल लिस्कले २९ रन बनाए ।
नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५, टंगेनी लुङ्गामेनी २ विकेट तथा बेन सिकोन्गो र बर्नार्ड स्कोल्जले १-१ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया