क्रिकेट

यू-१९ विश्वकपमा छनोट हुनेमा विश्वस्त छौ : कप्तान देव खनाल

इकागज |
फागुन १०, २०७९ बुधबार १३:१ बजे

काठमाडौँ- नेपाल यू–१९ पुरुष क्रिकेट टिमका कप्तान देव खनालले आईसीसी यू-१९ विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न जानुअघि कप्तान खनालले छनोट प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे ।

फेब्रुअरी २४ तारिखबाट सुरु हुने छनोट प्रतियोगिता नेपालसँगै आयोजक युएई, सिंगापुर,कतार,हङकङ र मलेसियाको सभागिता रहनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।


नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार राष्ट्रिय खेलकुद परिषद्मा आयोजना गरेको विदाइ कार्यक्रमपछि बोल्दै कप्तान खनालले अभ्यास राम्रो भएका कारण राम्रो नतिजासहित स्वदेश फर्किने बताए ।

‘टोलीमा मुख्यत फास्ट बलिङ पक्ष राम्रो छ । छनोट प्रतियोगिताका सबै खेल फाइनलसरह नै रहेको तथा सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रिनेछ,’ खनालले बताए ।

कप्तान जिम्मेवारी आफ्नो व्यक्तिगत करियका लागि निकै महत्वपूर्ण रहेको र राम्रो नतिजा देशका लागि दिलाउँदै पुनः राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य रहेको कप्तान खनालले जनाए ।

यता नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजना रहेको बताए ।

‘नेपाली टोली सबै पक्षमा सन्तुलित छ । मुख्यतः त टोलीमा तिब्र गतिका बलरले खेलमा हाबी हुने विश्वास छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन टोली स्कटल्याण्डसहित नामिबियासँगको सिरिज नेपालले क्लिन स्विप गरेपछि उमेर समूहको टोलीमा पनि मनोबल बढेको छ,’ प्रशिक्षक टमाटाले बताए ।

तालिका अुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरबिरुद्ध खेल्दै शुरुवात गर्नेछ । दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतबिरुद्ध खेल्नेछ भने फागुन १५ गते हंकङसँग खेल्नेछ । फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ । टोली बुधवार नै युएई प्रस्थान गर्नेछ ।

नेपाली टिमः

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द ।


Author

थप समाचार
x