क्रिकेट

क्यान कार्यवाहक सचिवको नियुक्ति विधान विपरीत छः क्यान केन्द्रीय सदस्य

इकागज |
फागुन १४, २०७९ आइतबार १६:७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीयसहित ९ जनाले क्यानका कार्यवाहक सचिवको नियुक्ति विधान विपरीत रहेको दावी गरेका छन् । कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि क्यानको बोर्ड बैठकले केन्द्रीय सदस्य दुर्गा राज पाठकलाई कार्यवाहक सचिव नियुक्त गरेको थियो ।

तर क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, सन्जय राज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीसहित बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत तथा काठमाडौँ जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पाठकलाई कार्यवाहक सचिव नियुक्त गर्नु क्यानको विधान विपरित भएको दावी गरेका छन् ।


उनीहरुले उक्त नियुक्ति प्रकृया कसरी अघि बढेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग कारण खुलाउन माग समेत गरेका छन् । उनीहरुले यसअघि अशोक नाथ प्याकुरेलको स्थानमा मल्ललाई कार्यवाहक सचिव बनाउँदा पनि विधान विपरीत रहेको जनाएका छन् ।

‘उपरोक्त सम्बन्धमा नेपाल क्रिकेट संघका केन्द्रीय कार्यसमितिका निर्वाचित उपाध्यक्ष राजुबाबु श्रेष्ठ र निर्वाचित सचिव अशोक नाथ प्याकुरेलले मिति २०७८/६/१३ मा राजीनामा दिएको र उक्त रिक्त पदमा नेपाल क्रिकेट संघका केन्द्रीय समितिका केन्द्रीय सदस्य प्रशान्त बिक्रम मल्ललाई नेपाल क्रिकेट संघको विधान २०५५ (तेस्रो संशोधन, २०७५) विपरीत कार्यवहाक सचिवमा पदपूर्ति गरिएको निवेदन गर्दछ,’ राखेपमा बुझाइएको निवेदनमा उल्लेख छ ।

‘नेपाल टी-२० लिगमा स्पट फिक्सिङको विवाद भएपछि कार्यवहाक सचिव मल्लले राजीनामा दिएपछि क्रिकेट संघले फेरि केन्द्रीय सदस्य दुर्गा राज पाठक नियुक्त गरेर अर्को विधान विपरीतको कदम चालेको छ,’ निवेदनमा थप लेखिएको छ ।


Author

थप समाचार
x