राखेप सदस्य सचिव भन्छन्: सन्दीपसँग प्रधानमन्त्रीले हात मिलाएको बिषयलाई उछाल्ने कार्य भयो
काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाईएका खेलाडी सन्दीप लामिछानेसँग राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले हात मिलाएको विषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको दावी गरेका छन् ।
घिसिङले सन्दीपलाई मात्र प्रधानमन्त्रीले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राखेपको ध्यानाकर्षण भएको समेत जनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २ गते देखि ९ गतेसम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले चारवटै खेलमा जित हात पारेको पछि गत बिहीबार राखेपले खेलाडीलाई बधाई दिन कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रममा आमन्त्रित प्रधानमन्त्री दाहालले टिमका सदस्यहरुलाई बधाई दिनुका साथै हात पनि मिलाएका थिए । तर नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीपसँग पनि प्रधानमन्त्रीले हात मिलाएपछि उक्त कार्यको विरोध भइरहेको छ ।
तर राखेपका सदस्य सचिव घिसिङ भने यसको प्रतिवादमा उत्रिएका छन् ।
‘नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषदका संरक्षक प्रधानमन्त्रीले हात मिलाएको विषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपलाई मात्र प्रधानमन्त्रीले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ । क्रिकेटमा ऐतिहासिक सफलता पाएको टिमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचारप्रति खेलकुद परिषद दुःख व्यक्त गर्दछ । नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको सदासयताप्रति राष्ट्रिय खेलकुद परिषद् आभार व्यक्त गर्दछ । साथै खेलकुद र खेलाडीको प्रर्वद्धन र विकासका लागि सदाझै सबै पक्षको सकारात्मक सहभागिताका लागि अनुरोध गर्दछौ,’ सदस्य सचिव घिसिङले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया