क्रिकेट

कप्तान वासिमले शतक पूरा गर्दा यूएईले पीएनजीलाई हरायो

इकागज |
चैत १, २०७९ बुधबार १६:२६ बजे

तस्बिरः क्यान

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पीएनजीलाई ६ विकेटले पराजित गर्‍यो ।

२ सय ३५ रनको लक्ष्य यूएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईलाई जित दिलाउन कप्तान मुहम्मद वासिमले ७६ बलमा सर्वाधिक १ सय १९ रनको योगदान गरे । एकदिवसीयमा पहिलो शतक पूरा गरेका वासिमले ६ चौका तथा १२ छक्का हिर्काए । उनी लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।


भृत्य अरविन्दले ३३ रन बनाए । आयान अफजल खानले २७ रन तथा चुन्डानगापोयिल रिजवानले २९ रन जोडे । पीएनजीका रिले हेकुरेले २ तथा जोन कारिको र काबुआ मोरियाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले लिग-२ को आफ्नो अन्तिम खेलको निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो ।

पीएनजीका लागि असाद भालाले सर्वाधिक ६५ रनको योगदान गरे । नोरमन भानुआले ३१ बलमा ४९ रन बनाए । उनले १ चौका र ५ छक्का हिर्काए । रिले हेकुरेले ३३ रन, किपलिन डोरिगाले २४ रन तथा चार्लस अमिनीले २२ रन जोडे ।

यूएईका लागि हजरत विलालले ४ तथा जावर फरिद र रोहन मुस्तफाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x