क्रिकेट

मोइनले उत्कृष्ट बलिङ गर्दा चेन्नईको जित

इकागज |
चैत २१, २०७९ मंगलबार ८:३५ बजे

काठमाडौँ- मोइन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित हात पारेको छ । सोमबार राति चेन्नईमा सम्पन्न खेलमा घरेलु टिम चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गर्‍यो ।

२ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रनमात्र जोड्न सक्यो । कायल मेयर्सले २२ बलमा ८ चौका र २ छक्काको मदतमा ५३ रन जोडेपनि लखनउको हार टार्न सकेनन् ।


चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४ विकेट हात पार्दा तुसार देशपाण्डेले २ र मिचेल सान्टनरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । उसका लागि रुतुराज गाइक्वाडले ३१ बलमा ३ चौका र ४ छक्काको मदतमा ५७ रनको योगदान गरे ।

लखनउका लागि मार्क उड र रवी विस्नोईले समान ३-३ विकेट हात पारे ।

पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको चेन्नईको यो पहिलो जित हो । लखनउको भने पहिलो हार हो ।

आज एक खेल हुँदैछ । आजको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्नेछ ।  


Author

थप समाचार
x