क्रिकेट

रिंकुले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काउँदा कलकताको अविश्वसनीय जित

इकागज |
चैत २७, २०७९ सोमबार ८:५२ बजे

काठमाडौँ- मध्यक्रमका ब्याट्सम्यान रिंकु सिंहले अन्तिम ५ बलमा ५ छक्का प्रहार गरेपछि कलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा अविश्वसनीय जित हात पारेको छ । कलकताले साविक विजेता गुजरात टाइटन्सलाई ३ विकेटले स्तब्ध तुल्यायो ।

आइतबार राति सम्पन्न खेलमा २ सय ५ रनको लक्ष्य कलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । जितका लागि कलकतालाई अन्तिम ओभरमा २९ रनको आवश्यकता भएकोमा गुजरातका यश दयालको पहिलो बलमा उमेश यादवले एक रन लिएर रिंकु सिंहलाई स्ट्राइक दिए । त्यसपछि रिंकुले यशको बाँकी ५ बलमा लगातार ५ छक्का हिर्काउँदै कलकतालाई जित दिलाए ।


रिंकुले २१ बल खेल्दा ४८ रन बनाए । भेनकटेस ऐयरले ४० बलमा ८३ रन तथा कप्तान नितिश रानाले ४५ रनको योगदान गरे । गुजरातका राशिद खानले ३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि विजय शंकरले २४ बलमा ६३ रन तथा साइ सुदर्शनले ३८ बलमा ५३ रन बनाए । कलकताका सुनिल नारायणले ३ विकेट हात परे ।

आइतबार राति नै सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्‍यो ।


Author

थप समाचार
x