रुविना क्षेत्रीले पाँच विकेट लिँदा बर्मी आर्मीको शानदार जित
काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि बर्मी आर्मीले शानदार जित हात पारेको छ । आज भएको खेलमा बर्मी आर्मीले साफायरलाई ६१ रनले पराजित गर्यो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको साफायरले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमात्र जोड्न सक्यो । साफायरका लागि टास फारान्डले ३२ रन तथा बाबेटे डी लिडेले २३ रन तथा एरिन बर्न्सले २१ रन बनाए ।
बर्मी आर्मीका लागि रुविना क्षेत्रीले सर्वाधिक ५ विकेट हात पारिन् । रुचिथा भेन्कटेसले २ तथा तारा नोरिस र लाउरा कार्डोसोले एक-एक लिए । रुविनाले ४ ओभरमा ११ रन खर्चिदाँ एक मेडन ओभर फालेकी थिइन् । एसोसियट राष्ट्रबाट पाँच विकेट लिने रुविना पहिलो खेलाडी हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोड्यो । बर्मी आर्मीका लागि लाउरा उलभार्टले सर्वाधिक ४९ रन जोडिन् । २५ बल खेलेकी रुविनाले दुई छक्का र एक चौकाको मदतमा २५ बलमा ३२ रनको योगदान गरिन् । साफायरका लागि जिभाना अरासले सर्वाधिक ४ विकेट हात पारिन् ।
सेमिफाइनलमा स्थान बनाइसकेको बर्मी आर्मीको यो पाँच खेलमा चौथो जित हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया