यूएईले सेमिफाइनलको सम्भावना बलियो बनाउँदा सिंगापुरको तेस्रो हार
काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ अन्तर्गत सिंगापुरविरुद्ध २ सय १ रनको शानदार जित हात पार्दै यूएईले अन्तिम चारको सम्भावना बलियो बनाएको हो । तीन खेलमा यो यूएईको दोस्रो जित हो भने सिंगापुरले तीनवटै खेलमा पराजय भोगेको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा ४ सय ७२ रनको विशाल योगफल पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रनमात्र बनाउन सक्यो । सिंगापुरका लागि मनप्रित सिंहले ६६ रन तथा कप्तान अरित्रा दत्तले ३८ रन बनाए । सुरेन्द्रन चन्द्रमोहनले ३८ रन र थिलिपन ओमाइदुराइले ५६ रन जोडे ।
यूएईका संचित शर्मा, कार्थिक मैयप्पन र आयान अफजल खानले २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४ सय ७१ रन जोड्यो । यूएईका भृत्य अरविन्दले १ सय ७४ रन बनाए । उनले १ सय ३३ बल खेल्दा १७ चौका तथा ७ छक्का प्रहार गरे । अरविन्दले यसअघि कुवेतविरुद्ध पनि १७ चौका प्रहार गरेका थिए ।
लागि कप्तान मुहम्मद वासिमले ८२ बलमा १ सय ६० रन बनाए । उनले १६ छक्का र ९ चौका हिर्काए । वासिम जारी प्रतियोगिताको एकै खेलमा सर्वाधिक छक्का हिर्काउन खेलाडी समेत बनेका छन् । यसअघि नेपालका कुशल मल्लले ओमानविरुद्ध १० छक्का तथा ९ चौका प्रहार गरेका थिए ।
आयान अफजल खानले ७४ रन बनाए ।
सिंगापुरका लागि अदवित्य भारगभले ४ विकेट, रमेश कालिमुथले ३, विनोथ बासकरणले २ विकेट तथा मनप्रित सिंहले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया