नेपाल एसिया कपका लागि छनोट, भारत र पाकिस्तानसँग ओडिआई खेल्ने
काठमाडौँ- नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । यसको अर्थ नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।
यूएईविरुद्ध जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउन गुल्सन झाले ६७ रन तथा भिम शार्कीले ३६ रन बनाए । आशिफ शेख ८ रन तथा कुशल भुर्तेल र रोहित पौडेल समान १ रनमा आउट भए ।
यूएईका लागि रोहन मुस्तफाले २ र आयान अफजल खानले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ तथा करण केसी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे । सोमपाल कामी र गुल्सन झाले १-१ हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया