न्यूजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान ओडिआई वरीयताको शीर्ष स्थानमा
काठमाडौँ- पाहुना टोली न्यूजिल्यान्डलाई पाँच खेलको एकदिवसीय सिरिजको चौँथो खेलमा पराजित गर्दै पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति कराँचीमा भएको चौँथो खेल पाकिस्तानले १ सय २ रनले जित्यो । यससँगै पाकिस्तानले सिरिज ४-० ले आफ्नो पक्षमा पारिसकेको छ ।
पाकिस्तानले दिएको ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यन्डले ४३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ३२ रनमात्र जोड्न सक्यो । न्यूजिल्यान्डका लागि कप्तान टम लाथमले सर्वाधिक ६० रन तथा मार्क चापम्यानले ४६ रन बनाए ।
पाकिस्तानका लागि उसामा मिरले सर्वाधिक ४ विकेट हात पार्दा मोहम्मद वासिमले ३ र हरिस राउफले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ७ रन बनाए । एकदिवसीयमा उनको यो १८ औँ शतक हो । बाबर एकदिवसीयमा सर्वाधिक छिटो ५ हजार रन पूरा गर्ने खेलाडी समेत बनेका छन् ।
पाकिस्तानका अघा सलमानले ५८ रन तथा शान मसुदले ४४ रनको योगदान गरे । न्यूजिल्यन्डका म्याट हेनरीले सर्वाधिक ३ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया