सुरुवाती २ खेल हार्दा पनि उपाधि जितेर नेपाल विश्वकप छनाेटमा पुगेकाे त्याे डिभिजन-३
तस्बिरः एसीसी
काठमाडौँ- बर्मुडामा सन् २०१३ को अप्रिल २८ देखि मे ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ सुरु हुनुअघि नेपाललाई उपाधि दावेदारको रुपमा लिइएको थियो ।
नेपालसँगै युगान्डा, अमेरिका, आयोजक बर्मुडा, ओमान र इटालीको सहभागिता रहेको डिभिजन-३ मा नेपालको सुरुवात भने सोचेअनुरुप हुन सकेन ।
विश्वकप छनोटमा स्थान बनाउने प्रतियोगिताको रुपमा समेत रहेको डिभिजन-३ को समूह चरणमा नेपालले सुरुवातका दुवै खेल हार्यो ।
पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध ९४ रनको पराजय भोग्यो । अमेरिकाले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा एक बल बाँकी छँदै सबै विकेट गुमाएर २ सय ७२ रनमै सिमित भयो । कप्तान पारस खड्काले ७३ रन तथा शरद भेषावकरले ७२ रन बनाए । वसन्त रेग्मीले अमेरिकाका सर्वाधिक दुई खेलाडीको विकेट लिएका थिए ।
त्यसैगरी, दोस्रो खेलमा युगान्डाविरुद्ध ६ विकेटको पराजय भोग्दा सुरुवाती ब्याटिङ गरेको नेपालले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमात्र जोड्न सक्यो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक २४ रन बनाए । वसन्त रेग्मीले युगान्डाविरुद्ध सर्वाधिक २ विकेट हात पारे ।
सुरुवाती दुई खेलमा पराजयपछि विश्वकपमा छनोटमा स्थान बनाउने सपना तुहिने खतरा बढिरहँदा नेपालले भने तेस्रो खेलमा बर्मुडालाई ८ विकेटको सानदार जित हात पार्यो । सुरुवाती ब्याटिङ गरेको बर्मुडालाई १ सय ६ रनमै समेट्न कप्तान पारस खड्काले ४ तथा वशन्त रेग्मीले ३ विकेट लिए । १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा पारसले सर्वाधिक ४६ तथा ज्ञानेन्द्र मल्लले ३४ रन बनाए ।
चौँथो खेलमा भने ओमानलाई २८ विकेटले पराजित गर्दै समग्रमा दोस्रो जित दर्ता गर्यो । नेपालले ९ विकेटको क्षतिमा १ सय ६० रन बनाउँदा ज्ञानेन्द्र मल्लले ३४ तथा विनोद भण्डारीले ३२ रन जोडे । ओमानलाई १ सय ३२ रनमा अलआउट पार्दा सञ्जम रेग्मी र वसन्त रेग्मीले समान २-२ विकेट हात पारे ।
नेपालका लागि निकै नै महत्वपूर्ण मानिएको समूह चरणका अन्तिम खेलमा नेपालले इटालीलाई ८ विकेटले पराजित गर्दै तालिकामा दोस्रो हुँदै नेपालले न्यूजिल्यान्डमा २०१४ मा भएको विश्वकप छनोटमा स्थान सुरक्षित गर्यो । नेपालले युगान्डासँगै फाइनलमा समेत स्थान सुरक्षित गर्यो ।
समूह चरणमा युगान्डाले सर्वाधिक ४ खेल जित्दै ८ अंक जोड्दा नेपाल, अमेरिका र बर्मुडाले समान ३-३ खेल जित्दै ६-६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल दोस्रो स्थानमा रह्यो ।
इटालीविरुद्ध १ सय २८ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा गर्दा सुवास खकुरेलले सर्वाधिक ४७ रन तथा प्रदीप ऐरीले ४२ रन बनाए । राहुल विश्वकर्मा र सञ्जम रेग्मीले समान ३-३ विकेट हात पारे ।
फाइनलमा भने नेपालले युगान्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन-३ को उपाधि समेत जित्यो । फाइनलमा युगान्डाविरुद्ध नेपालले समूह चरणमा भोगेको पराजयको बदला पनि लिन सफल भयो ।
फाइनलमा १ सय ५२ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर पूरा गर्दा प्रदीप ऐरीले ६० रन तथा शरद भेषवाकरले ५० रन बनाए । त्यसअघि युगान्डालाई १ सय ५१ रनमा रोक्न वसन्त रेग्मी र राहुल विश्वकर्माले समान २-२ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया