क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा सम्मान गरिँदै

इकागज |
बैशाख २६, २०८० मंगलबार १७:३९ बजे

विराटनगर- विश्व क्रिकेटमा वर्चस्व कायम राख्ने टेष्ट मान्यता प्राप्त भारत र पाकिस्तानसँग एसिया कप खेल्ने बाटो तय गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई कोशी प्रदेशका प्रमुख उद्योगी तथा व्यवसायी सम्बद्ध तीन वटा संस्थाले सम्मान गर्ने भएका छन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई बुधबार नगर परिक्रमा गराउँदै सम्मान गर्ने भएका हुन् ।


राष्ट्रिय क्रिकेट टिमले एसिसी प्रिमियर कपमा ऐतिहासिक जित निकाल्दै एसिया कपका लागि तेस्रो सिट सुरक्षित गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालकै गौरव उँचो बनाएको भन्दै उद्योगी व्यवसायी क्षेत्रले समेत त्यसको खुसी साट्न चाहेको बताएका छन् । खेलाडीहरूको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले बताए । सम्मान कार्यक्रमसँगै खेलाडीहरूलाई नगर परिक्रमा गराइने जनाइएको छ ।

विराटनगर विमानस्थलमा खेलाडीहरू ओर्लिएपछि कञ्चनवारी चोकस्थित एयरपोर्ट मोडबाट बरगाछी–तीनपैनी–मेनरोड हुँदै ट्राफिक चोक–रोडशेष चोकसम्म र त्यसपछि पुनः महेन्द्र चोक हुँदै बरगाछीसम्म खेलाडीहरूलाई नगर परिक्रमा गराउने रुट तय भएको खेलाडी सम्मान कार्यक्रमका संयोजक समेत रहेका उद्योगी लुनियाले जानकारी दिए ।

नगर परिक्रमा पछि सोही दिन आयोजक संस्थाहरूले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियलहरूलाई संयुक्त रूपमा सम्मान गर्ने जनाइएको छ ।

तीन संस्थाको बैठकले खेलाडीहरूलाई नगर परिक्रमा र सम्मान कार्यक्रममा आ–आफ्नो ठाउँबाट सहयोग र स्वागत गरी खेलाडीहरूलाई हौसला प्रदान गर्न पनि आग्रह गरेका छन् ।

सोही कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका फिजियो प्रशिक्षक अब्दुल सतारको उपचारार्थ तीनवटै संस्थाको तर्फबाट आर्थिक सहयोग घोषणा गर्ने भएका छन् । उनी मिर्गौलासम्बन्धी गम्भीर रोगबाट अहिले बिरामी छन् । उपचारका लागि आर्थिक अभाव हुन नदिनका लागि निजी क्षेत्रको समेत योगदान रहने लुनियाले बताए ।


Author

थप समाचार
x