नेपालले टी-ट्वान्टी विश्वकप छनोट आयोजना गर्ने
काठमाडौँ- नेपालले २०२४ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले टी-ट्वान्टी विश्वकपका लागि एसिया क्षेत्रको छनोट नेपालले आयोजना गर्ने इकागजलाई जानकारी गराए ।
उनका अनुसार इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले एसिया छनोटका लागि नेपाललाई आयोजक चयन गरेको हो । नेपालले नोभेम्बर १ देखि १० तारिखसम्म छनोट आयोजना गर्नेछ ।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले टी-ट्वान्टी विश्वकप आयोजना गर्दै छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहनेछ ।
नेपालमा आयोजना हुने छनोटमा भने ८ टोलीको सहभागिता रहनेछ । छनोटमा नेपालसँगै ओमान, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् ।
नेपालमा आयोजना हुने एसिया क्षेत्रको छनोटबाट दुई टोलीले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
कार्यवाहक सचिव छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ । त्रिवि र मुलपानी दुबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान हुन् । यसअघि नेपालले एसीसी प्रिमियर कपका खेलहरु दुबै मैदानमा सफलतापूर्वक सम्पन्न गरेको थियो । यसले पनि क्यानलाई विश्वकप छनोट आयोजना अधिकार प्राप्त गर्न सहज भएको हो ।
पाठकका अनुसार खेल टी-ट्वान्टी फर्म्याटमा हुने भएकाले दर्शकहरुको उपस्थिति ठूलो संख्यामा हुने अपेक्षा गरिएको छ र त्यसका लागि मुलपानी मैदानको स्तरोन्नति गरिने छ ।
‘छनोटका लागि आईसीसीले दुईवटा मैदान चाहिन्छ साथै थप पूर्वाधार थप्नुपर्ने माग समेत अघि सारेका कारण हामीले थप सुविधा सम्पन्न बनाउने छौ,’ पाठकले जानकारी गराए ।
‘हामीले प्रतियोगिता आयोजना गर्न लागेको विषयमा आधिकारिक जानकारी भने केही दिनमा गराउने छौ,’ पाठकले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया