क्रिकेट

किन गिललाई ग्रिनले गरेको क्याच आउट विवादित बनिरहेको छ ?

इकागज |
जेठ २८, २०८० आइतबार ९:३९ बजे

काठमाडौँ- इंग्ल्यान्डको ओभलमा जारी आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलअन्तर्गत भारतको दोस्रो इनिङ्समा शुभमन गिललाई आउट गर्ने क्रममा अस्ट्रेलियाका क्यामरन ग्रिनले लिएको क्याच चौतर्फी चर्चाको विषय बनिरहेको छ ।

पहिलो इनिङ्समा अजिंक्या रहाणेलाई आउट गर्न उत्कृष्ट क्याच गरेका ग्रिनले दोस्रो इनिङ्मा पनि उत्कृष्ट क्याच गरेका हुन् ।


उनले आफ्नो बाँयापट्टी ‘डाइभ’ हान्दै बल टर्फमा ठोक्किनुअघि मिलिसेकेन्डभित्रै क्याच गरेका थिए । तर निर्णय लिनका लागि टिभी अम्पायरको सहयोग लिनुपरेको थियो ।

गिल र क्रिजमा रहेका भारतीय टिमका कप्तान रोहित शर्मा दुबैलाई ग्रिनले क्याच गर्दा बलले भुईलाई छोएको लागेपछि टिभी अम्पायरको सहयोग मागेका थिए ।

तर टिभी अम्पायर रिचार्ड केट्टलबोरोले ग्रिनले लिएको क्याच ठिक रहेको ठहर गरेका थिए । गिल १८ रनमै आउट भएका थिए ।

तर रोहित भने उक्त निर्णयमा सहमत भएनन् । उनले गिल आउट नभएको दावी गरेका थिए । यता गिलले पनि ट्वीटरमा उक्त क्याचको फोटो हाल्दै क्याच क्लिन नभएको भन्ने संकेत गरेका थिए ।

अर्कोतर्फ भारतीय तथा अस्ट्रेलियन पूर्व क्रिकेटरहरुले सही निर्णय लिइएको दावी गरेका छन् । पूर्व भारतीय क्रिकेटर तथा कमेन्टेटर संजय मन्जरेकरले ग्रिनको क्याच उत्कृष्ट रहेको बताए ।

अस्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङले पनि ग्रिनको क्याच उत्कृष्ट र सही रहेको दावी गरे ।

 


Author

थप समाचार
x