क्रिकेट

दक्षिण अफ्रिकाको भ्रमण पूरा गरी नेपाली क्रिकेट टिम जिम्बाब्वे प्रस्थान

इकागज |
जेठ २८, २०८० आइतबार १२:५० बजे

काठमाडौँ- दक्षिण अफ्रिकाको भ्रमण पूरा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बाब्वे प्रस्थान गरेको छ । जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोली जिम्बाब्वे प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाली टोली विश्वकपको तयारीका लागि दक्षिण अफ्रिका पुगेको थियो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपालले दुबै खेलमा पराजय भोगेको थियो ।


छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेविरुद्ध जुन १८ तारिखमा खेल्ने छ । समूह ‘ए’ मा जिम्बाब्वेसँगै नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल टेस्ट राष्ट्र तथा दुई पटकको विजेता वेस्ट इन्डिजसँग जुन २२ तथा चौथो खेल नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने तालिका रहेको छ ।

छनोटको समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालले जिम्बाब्वेमा यूएई र ओमानविरुद्ध अभ्यास पनि खेल्ने तालिका रहेको छ । नेपालले यूएईसँग जुन १३ तथा ओमानसँग जुन १५ मा खेल्नेछ ।


Author

थप समाचार
x