क्रिकेट

अस्ट्रेलियासँग पराजित भएपछि रोहितको प्रश्न, ‘टेस्ट च्याम्पियनसीपको फाइनल आईपीएलपछि मात्र किन ?’

इकागज |
जेठ २९, २०८० सोमबार १०:२१ बजे

काठमाडौँ- लगातार दोस्रो पटक पराजित भएपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल इन्डियन प्रिमियर लिग (आईपीएल) पछि मात्र राखिएको प्रति आपत्ति जनाएका छन् ।

उनले च्याम्पियनसीपको फाइनल आईपीएलको फाइनलपछि मात्रै किन राखिएको तथा उनले जुन महिनाबाहेक अन्य महिनामा किन नराखिएको भन्दै प्रश्न गरेका क्रिकइन्फोले जनाएको छ ।


आइतबार इंग्ल्यान्डको ओभलमा सम्पन्न च्याम्पियनसीपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको थियो । त्यसअघि सन् २०२१ मा इंग्ल्यान्डकै साउथाम्पटनमा जुन महिनामा भएको फाइनलमा न्यूजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो ।

रोहितले च्याम्पियनसीपको फाइनल खेल इंग्ल्यान्डमा मात्र खेलाएकोमा पनि प्रश्न तेर्स्याए । उनले च्याम्पियनसीपको फाइनल अन्य देशमा पनि खेलाउन सकिने बताए ।

उनले टेस्ट च्याम्पियनसीपको फाइनल जुन महिनाबाहेक अन्य महिना तथा इंग्ल्यान्डबाहेक अन्य देशमा पनि खेलाउन सकिने धारणा राखेका छन् ।

सन् २०२५ को टेस्ट च्याम्पियनसीपको फाइनल पनि इंग्ल्यान्डको लर्ड्समा खेलाइने तालिका रहेको छ ।

रोहितले आईपीएल लगतै इंग्ल्यान्ड आउँदा वातावरणमा घुलमिल हुन समय लाग्ने तथा फाइनल अघि तयारीका लागि पर्याप्त समय छुट्याइनुपर्ने बताए ।

त्यसका अलावा उनले च्याम्पियनसीपको फाइनल विजेताको टुंगो तीन खेलको सिरिजबाट लगाइनुपर्ने धारणा समेत राखे ।


Author

थप समाचार
x