एसिया कपः पाकिस्तानसँग हार्यो नेपाल
काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत टिन क्वोन रोड रिक्रियसन ग्राउन्डमा भएको खेलमा पाकिस्तान ‘ए’ ले नेपाललाई ९ रनले पराजित गरेको हो ।
जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रनमात्र जोड्न सक्यो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन जोडिन् ।
सम्झना खड्का ७, कप्तान रुविना क्षेत्री र सीता राना मगर समान ६-६ रन, इन्दु बर्मा ४ तथा बिन्दु रावल ३ रनमा आउट भए । ज्योति पाण्डेले ९ रन तथा कविता जोशीले १५ रन बनाए ।
पाकिस्तानका लागि टुबा हसन र सयदा अरुब शाहले २-२ तथा उम-ए-हानी र अनोसा नसिरले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनायो ।
पाकिस्तानका लागि शवाल जुल्फिकारले सर्वाधिक २८ रन जोडिन् । कप्तान फातिमा सानाले १६ रन, सदाफ शमासले १२ तथा गुल फेरोजले ११ रन जोडे ।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ तथा सीता राना मगर, कविता जोशी र कविता कुँवरले २-२ विकेट हात पारे ।
समूह ‘ए’ मा नेपाल र पाकिस्तान ‘ए’ सँगै आयोजक हङकङ र भारत ‘ए’ टिम रहेका छन् । समूह ‘बी’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, यूएई र मलेसिया रहेका छन् ।
नेपालले दोस्रो खेल भारतविरुद्ध जुन १५ तथा तेस्रो खेल हङकङविरुद्ध जुन १७ मा खेल्ने तालिका रहेको छ ।
समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल जुन २१ मा हुने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया