क्रिकेट

एसिया कपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै

इकागज |
असार १, २०८० शुक्रबार १४:८ बजे

काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा भोलि (शनिबार) आयोजक हङकङको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार शनिबार बिहान ६:४५ बजेबाट सुरु हुनेछ ।

शनिबारको खेलमा हङकङलाई फराकिलो अन्तरले पराजित गरे नेपालको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै रहनेछ । यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले हारेपनि दोस्रो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले भारत ‘ए’ सँग अंक बाँडेको थियो । जसका कारण नेपालको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना कायमै रहेको हो ।


यस समूहमा रहेका भारत र पाकिस्तानको दुई खेलबाट समान ३-३ अंक छ । नेपाल र हङकङ १-१ अंक छ । नेट रनरेटमा भने भारत शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ । हङकङ चौँथो अर्थात पुछारमा छ ।

शनिबार नेपालले हङकङको सामना गर्दा भारतले पाकिस्तानविरुद्ध खेल्नेछ । शनिबारको खेलमा यदि नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्दा पाकिस्तानले भारतविरुद्ध फराकिलो अन्तरको हार भोगे नेपाल अघिल्लो चरणमा प्रवेश गर्नेछ । भारत भने नेट रनरेटमा धेरै माथि छ ।

यदि नेपालले जित हात पारे तथा पाकिस्तान पराजित भए, नेपाल र पाकिस्तानको समान ३-३ हुनेछ र यस्तो अवस्थामा नेट रनरेटले निर्णायक भूमिका खेल्ने हङकङ क्रिकेटले उल्लेख गरेको छ ।

हङकङमा अहिले वर्षाका कारण अधिकांश खेलहरु प्रभावित भइरहेका कारण नेपालले हङकङसँग अंक बाँडेको खण्डमा नेपाल र हङकङ दुबै प्रतियोगिताबाट बाहिरिनेछ । तर यदि नेपालले जितेर पाकिस्तान र भारतबीचको खेलमा अंक बाँडिएर समीकरण फेरिनेछ । यस्तो अवस्थामा भारत र पाकिस्तान समान ४-४ अंकसहित अन्तिम चारमा प्रवेश गर्नेछन् ।

अर्कोतर्फ यदि हङकङले नेपाललाई फराकिलो अन्तरले पराजित गरे तथा पाकिस्तानले भारतसँग फराकिलो अन्तरको हार भोगे, हङकङको पनि अन्तिम चारको सम्भावना कायमै रहनेछ ।

यता समूह ‘बी’ बाट बंगलादेश ‘ए’ समूह विजेता तथा श्रीलंका ‘ए’ उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


Author

थप समाचार
x