क्रिकेट

वेस्ट इन्डिजलाई हराउन सके नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो

इकागज |
असार ६, २०८० बुधबार १६:५० बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भोलि (बिहीबार) टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र वेस्ट इन्डिजबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले खेलेको एक मात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।  


जिम्बाब्वेमा जारी प्रतियोगितामा  १० टिमको सहभागी रहेको छ । दुई समूहमा ५-५ टिम रहेको र दुवै समूहबाट समान ३-३ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुग्ने टोलीमध्ये शीर्ष दुई टिम भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

बिहीबारको खेलमा नेपालले वेस्ट इन्डिजलाई हराए सुपर सिक्समा स्थान बनाएर विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाउन सक्छ ।  नेपाललाई टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्न भने सहज हुँदैन । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो दोस्रो खेल मात्र हो । पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध हार बेहोरिसकेको छ ।

नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको हुँदा मनोबल भने उच्च रहेको छ । नेपालले बिहीबार हुने खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा उत्क्रिष्ट प्रदर्शन गर्न सके वेस्ट इन्डिजलाई पराजित गर्न  सम्भव हुने छ । नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछाने लगातार दुई खेलमा विकेटविहिन छन् । तर वेस्ट इन्डिजविरुद्ध उनी लयमा आए नेपालले जित्ने सम्भावना पनि बलियो बन्नेछ ।

 


Author

थप समाचार
x