नेपालले खेल्ने एसिया कप हुनेबारे अझै अन्याेल
काठमाडौँ- नेपालले खेल्ने एसीसी एसिया कप क्रिकेट हुने/नहुने अन्यौलता अझै कायमै रहेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को नयाँ अध्यक्ष बन्ने संघारमा रहेका जाका असरफले ‘हाइब्रिड मोडल’ नस्वीकार्ने बताएपछि एसिया कपबारे अन्यौलता जारी रहेको अल-जजिराले जनाएको छ ।
एसिया कपका लागि पीसीबीले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ अर्थात चार खेल पाकिस्तान तथा बाँकी खेल श्रीलंकामा गर्ने योजनालाई एसियन क्रिकेट काउन्सिल (एसीसी) स्विकृति प्रदान गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म प्रतियोगिता आयोजना हुने समेत जनाएको थियो ।
तर हाइब्रिड मोडल प्रस्ताव गरेका पीसीबीका पूर्व कार्यवाहक अध्यक्ष नजाम सेठीले जुन २८ मा हुने पीसीबीको चुनावमा सहभागी नहुने बताएपछि असरफ अध्यक्ष हुने संघारमा पुगेका हुन् । सेठीको कार्यकाल जुन २१ मै समाप्त भएको छ । पीसीबीको अध्यक्षका लागि असरफ बलिया उम्मेदवारका रुपमा रहेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले असरफ र सर्वोच्च अदालतका वकिल मुस्तफा रामदेयलाई पीसीबीको पदाधिकारीका लागि मनोनय गरेको इएसपीएनले जनाएको छ ।
पीसीबीको अध्यक्ष बन्ने संघारमा पुगेका असरफले भने एसिया कपको सबै खेल पाकिस्तानमै हुनुपर्ने दावी गरेका छन् ।
उनले हाइब्रिड मोडल पाकिस्तानको लागि अन्याय हुने तथा आफूले त्यसलाई स्विकार नगर्ने बताएका छन् ।
उनले हाइब्रिड मोडल अनुसार क्रिकेटको सानो राष्ट्र नेपालले मात्र पाकिस्तानमा खेल्ने तथा बाँकी राष्ट्रले श्रीलंकामा खेल्ने बताउँदै त्यसप्रति असहमति जनाएका अल-जजिराले उल्लेख गरेको छ ।
असरफले यसअघिका पदाधिकारीले लिएको निर्णय आफूले नमान्ने समेत दावी गरे ।
एसिया कपका लागि पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ तथा अफगानिस्तान, बंगलादेश र श्रीलंका समूह ‘बी’ मा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया