क्रिकेट

विश्वकप छनोटः आठ देशका खेलाडीले मात्र प्रहार गरे शतक

इकागज |
असार २०, २०८० बुधबार १३:५४ बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा हालसम्म २० वटा शतक प्रहार भएको छ । ती २० वटा शतक भने सहभागी १० मध्ये ८ देशका खेलाडीहरुले मात्र हिर्काएका छन् ।

केवल २ देशका खेलाडीहरुले मात्र शतक पूरा गर्न सकेका छैनन् । ती दुई देशमा नेपाल र युनाइटेड अरब इमिरेट्सन (यूएई) पर्छन् ।


यूएईले अन्तिम खेल अमेरिकाविरुद्ध खेल्न बाँकी नै रहेको कारण यूएईका खेलाडीले शतक हान्ने सम्भावना अझै कायमै रहेको छ ।

तर नेपालले छनोटका सबै खेल खेलिसकेकाले नेपाली खेलाडीले शतक पूरा गर्ने सम्भावनाको पनि अन्त्य भएको छ ।

खासमा नेपालका लागि छनोटमा सर्वाधिक २ सय १३ रन बनाउने कुशल भुर्तेल शतक बनाउनबाट केवल एक रनले पछि परे । उनी पहिलो खेलमै जिम्बाब्वेविरुद्ध ९९ रनमा आउट भए । त्यसपछि कुनै पनि नेपाली खेलाडी शतक नजिक पुग्न सकेनन् ।

विश्वकप छनोटमा हालसम्म लागेका २० शतक ८ देशका खेलाडीले हिर्काएका छन् । शतक हिर्काउनेमा जिम्बाब्वे, वेस्ट इन्डिज, श्रीलंका, ओमान, नेदरल्यान्ड्स, आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकाका खेलाडी रहेका छन् ।

२० मध्ये ५ शतक आयोजक जिम्बाब्वेका खेलाडीले हिर्काएका छन् । जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ३ शतक हिर्काएका छन् । जिम्बाब्वेकै सिकन्दर राजा र क्रेग एर्भिनले एक-एक शतक पूरा गरेका छन् ।

वेस्ट इन्डिजका निकोलास पुरनले २ तथा शाई होपले एक शतक हिर्काएका छन् । श्रीलंकाका पाथुम निसान्का र दिमुथ करुनारत्ने एक-एक शतक पूरा गरेका छन् ।

त्यसैगरी, ओमानका आयान खान र कश्यप प्रजापति, नेदरल्यान्ड्सका विक्रमजित सिंह र तेजा निदामनुरुले एक-एक शतक हिर्काएका छन् ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलन र रिचि बेरिङ्टन, अमेरिकाका शायान जाहाँगिर र गजानन्द सिंह तथा आयरल्यान्डका पल स्टिरिलिङ र कर्टिस क्याम्फरले शतक पूरा गरेका छन् ।


Author

थप समाचार
x