क्रिकेट

नेपाल क्रिकेट संघसँग पारिश्रमिक माग गर्दै फिजियो सागरले लेखे लामो स्टाटस

इकागज |
साउन १४, २०८० आइतबार १५:४० बजे

काठमाडौँ- पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा काठमाडौँ नाइट्सको फिजियोथेरापिस्टको रुपमा काम गरेका सागर पाण्डेले आफूले अझै पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो ‘स्टाटस’ राख्दै सागरले लिगमा काठमाडौँ नाइट्सका लागि काम गरेको पारिश्रमिक नपाएको र नेपाल क्रिकेट संघ (क्यान) सँग पारिश्रमिक माग गरेका हुन् ।


लिग गत डिसेम्बर २४ देखि जनवरी ११ तारिखसम्म कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

तर लिगमा पारिश्रमिक विवादका साथै खेलमा मिलेमतो भएको पुष्टी भएको थियो । त्यसका लागि लगानीकर्ताहरु लिग जारी रहेकै समयमा भागेका थिए ।

सागरले लिगका क्रममा काठमाडौँ नाइट्सका व्यवस्थापक फरार भएका कारण आफूले सम्झौतापत्रमा हस्ताक्षर गर्न नपाएपनि लिग अवधिभरी नै काम गरेको उल्लेख गरेका छन् ।

उनले लिगका क्रममा भएको सम्झौताअनुसार फिजियोथेरापिस्टको रकम पनि उपलब्ध गराउने सम्झौता भएको बताउँदै आफूले अहिलेसम्म एक रुपैयाँ पनि नपाएको भन्दै क्यानसँग रकम उपलब्ध गराउन माग गरेका छन् ।

उनले अझै चुप लागेर बस्न नसक्ने समेत जनाएका छन् ।

उनले यसका लागि क्यानलाई पत्राचार गरेपनि केही जवाफ नआएको दावी समेत गरे ।

 


Author

थप समाचार
x