ब्रोडले आफ्नो अन्तिम बलमा विकेट लिँदा इंग्ल्यान्डले अस्ट्रेलियालाई हरायो
काठमाडौँ- स्टुअर्ट ब्रोडले आफ्नो क्रिकेट करियरकै अन्तिम बलमा विकेट लिँदा घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एशेज टेस्ट सिरिजको अन्तिम खेल जितेको छ ।
यससँगै पाँच खेलको सिरिज २-२ को बराबरीमा टुंगिएको छ । अस्ट्रेलियाले सुरुवाती दुई टेस्ट जितेपनि तेस्रो खेल भने इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको थियो ।
चौँथो खेल वर्षाका कारण बराबरीमा टुंगिएपछि अन्तिम खेल भने इंग्ल्यान्डले ४९ रनले जित्दै सिरिज बराबरीको अवस्थामा ल्याएको हो ।
अन्तिम खेलमा ३ सय ८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम तथा पाचौँ दिन १० वटै विकेट गुमाउँदै ३ सय ३३ रनमात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि दोस्रो इनिङ्समा उस्मान खवाजाले ७२, डेभिड वार्नरले ६० तथा स्टेभेन स्मिथले ५४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । इंग्ल्यान्डका लागि क्रिस ओक्सले ४, मोइन अलीले ३, ब्रोडले २ तथा मार्क उडले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ह्यारी ब्रुकको ८५ रनको मदतमा २ सय ८३ रन बनायो । अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट हात पारे ।
यता अस्ट्रेलियाले भने पहिलो इनिङ्समा २ सय ९५ रन बनाउँदा स्टेभेन स्मिथले ७१ रन जोडेका थिए । इंग्ल्यान्डका क्रिस ओक्सले सर्वाधिक ३ विकेट लिए ।
इंग्ल्यान्डले भने दोस्रो इनिङ्समा ३ सय ९५ रन बनाउँदा अस्ट्रेलियाले ३ सय ८४ रनको लक्ष्य पाएको थियो ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा जो रुटले ९१, जोनी बेयरस्टोले ७८ र ज्याक क्राउलीले ७३ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र टोड मर्फीले समान ४-४ विकेट हात पारे ।
यस खेलसँगै ब्रोडले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया