क्रिकेट

१९ औँ एसियन गेम्स

टी-ट्वान्टीमा नेपालको अर्को कीर्तिमान

इकागज |
असोज १०, २०८० बुधबार १०:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुषको क्रिकेटमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । बुधबार नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा ४१ रन मात्र बनाएर सबै विकेट गुमाएको छ ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रनका हिसाबले नेपालले मंगोलियामाथि हात पारेको पहिलो ठूलो जित हो । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्र नाममा थियो । चेक गणतन्त्रको नाममा सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई २५७ रनले हराउँदै कीर्तिमान राखेको थियो ।


१९ औँ एसियन गेम्सअन्तर्गत पुरुषको क्रिकेटमा नेपालले चेक गणतन्त्रको उक्त कीर्तिमान तोडेको छ । बुधबार बिहान चीनमा भएको खेलमा नेपालले मंगोलियालाई १३.१ बलमा ४१ रन मात्र बनाएर अल आउट गरेको छ । योसँगै ३१५ रनको लक्ष्य दिएको नेपालले मंगोलियालाई ४१ रन मात्र खर्चिएर अल आउट गराउँदै २७३ रनले जितेको हो ।

 मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा केवल ३ विकेट गुमाएर ३ सय १४ रन बनायो ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि टिमले बनाएको यो सर्वाधिक रन हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले ५० बलमा अविजित रहँदै १ सय ३७ रन बनाउँदा १२ छक्का र ८ चौका हिर्काए । कुशल मल्लले ३४ बलमै शतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र रोमानियाका विक्रमासेकाराले ३५ बलमा शतक पूरा गरेका थिए ।

यता कप्तान रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतमा ६१ रन जोडे ।

त्यसैगरी, दिपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन जोड्दा ८ छक्का प्रहार गरे । उनले ९ बलमै अर्धशतक पूरा गरे ।

दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका छन् । दिपेन्द्रले भारतीय पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका छन् । युवराजले इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

र, यो पनि


Author

थप समाचार
x