नेपाललाई निराश बनाउँदै ओमान बन्यो विश्वकप छनोटको ‘च्याम्पियन’
काठमाडौँ- ओमानले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै ओमान छनोट प्रतियोगिताको ‘च्याम्पियन’ बनेको हो ।
ओमानले नेपाललाई सुपर ओभरमा पराजित गर्यो । २२ रनको लक्ष्य पछ्याएको नेपालले सुपर ओभरमा १० रनमात्र जोड्न सक्यो । पहिला ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो ।
यसअघि नेपालले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभर ९ विकेट गुमाएर १ सय ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
ओमानका लागि कश्यप प्रजापतिले ५२ बलमा ६३ रन बनाए । उनले ३ चौका र ४ छक्का हिर्काए ।
कप्तान जिसन मक्सुदले २६ रन जोडे । अकिब इलयासले १९ बलमा ३ छक्का र २ चौकाको मदतमा ३३ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २-२ विकेट हात पार्दा अविनाश बोहरा, विवेक यादव, सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे ।
यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाउँदा गुल्सन झाले २५ बलमा ५४ रन तथा कप्तान रोहित पौडेलले ३७ बलमा ५२ रन जोडे । करण केसीले ६ बलमा २० रनको योगदान गरे ।
ओमानका लागि विलाल खानले सर्वाधिक ३ तथा अकिब इलयासले २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया