क्रिकेट

निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

इकागज |
मंसिर २८, २०८० बिहीबार २१:४९ बजे

काठमाडौँ- रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।​ बिहीबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए ।


उनले  मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पारे । उनले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो । ​रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो ।

उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमहरूको काम वैशाखसम्म सकिसक्ने बताए । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताए । उनले आगामी दसैँसम्ममा रंगशालाले सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरू सञ्चालन गर्न आग्रह गरे ।

क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढिरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो । यस किसिमको काम अन्य निजी क्षेत्रहरूले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ । साथै खेलकुदमा लगानी गर्ने निजी क्षेत्रहरूलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन ।


Author

थप समाचार
x