सूर्यकुमारको शतकमा दक्षिण अफ्रिकाविरुद्ध भारतको शानदार जित
काठमाडौँ- कप्तान सूर्यकुमार यादवले शतक प्रहार गरेपछि पाहुना टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा शानदार जित हात पारेको छ ।
बिहीबार राति दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १ सय ६ रनको जित हात पारेको हो ।
यससँगै ३ खेलको सिरिज १-१ को बराबरीमा टुंगिएको छ । यसअघि पहिलो खेल वर्षाका कारण पूरा हुन सकेन भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो ।
बिहीबार राति भारतले दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले १३ ओभर ५ बलमा सबै विकेट गुमाएर केवल ९५ रनमात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ३५ रन बनाउँदा कप्तान ऐडेन मारक्रामले २५ रन बनाए ।
भारतीय बलर कुलदीप यादवले सर्वाधिक ५ तथा रविन्द्र जडेजाले २ विकेट हात पारे । मुकेश कुमार र अर्शदीप सिंहले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १ रन बनायो । भारतका लागि कप्तान सूर्यकुमारले ५६ बलमा ८ छक्का र ७ चौकाको मदतमा सर्वाधिक १ सय रन बनाए । यशस्वी जयसवालले ४१ बलमा ६० रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र लिजाड विलियम्सले समान २-२ तथा ताबरेज शम्सी र नान्द्रे बर्गरले १-१ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया