महिला राष्ट्रिय क्रिकेट
बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा
काठमाडौँ- सुदूरपश्चिम प्रदेशले पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनल प्रवेशको सम्भावना कायमै राखेको हो ।
सुदूरपश्चिमले अब फाइनल प्रवेशका लागि कोशी प्रदेशको सामना गर्नेछ । यता आइतबार नै भएको पहिलो क्वालिफायरमा नेपाल एपीएफ क्लबले कोशीलाई ५२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
आइतबारको खेलमा बागमतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १४ ओभर ३ बलमा केवल १ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमलाई जित दिलाउन बिन्दु रावलले ४९ बलमा ७ चौकाको मदतमा अविजित ५४ रनको योगदान गरिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरभित्रै सबै विकेट गुमाएर केवल ९९ रन बनाउन सक्यो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६ रन बनाउँदा सुदूरपश्चिमकी करिश्मा थापाले सर्वाधिक ३ विकेट हात पारिन् । लक्ष्मी साउद र रितु कनौजियाले समान २-२ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया