क्रिकेट

कोशी प्रदेशलाई पराजित गर्दै एपीएफले जित्यो पीएम कपको उपाधि

इकागज |
पुस १८, २०८० बुधबार १३:५३ बजे

काठमाडौँ- नेपाल एपीएफ क्लबले पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।


जारी प्रतियोगितामा एपीएफले कोशीलाई लगातार तेस्रोपटक पराजित गरेको हो । एपीएफले लिग चरणमा कोशीलाई ८ विकेट तथा पहिलो क्वालिफायरमा ५२ रनले हराएको थियो ।

बुधबार उपाधिका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन । काजल श्रेष्ठले २२ रन बनाइन् ।

एपीएफका लागि कप्तान सीता राना मगर र करुणा भण्डारीले १-१ विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो ।

एपीएफका लागि इन्दु वर्माले ४७ बलमा सर्वाधिक ५३ रन बनाउँदा ६ चौका र १ छक्का हिर्काइन् । ज्योती पाण्डेले २७ रनको योगदान गरिन् ।

कोशी प्रदेशका लागि अप्सरी बेगमले सर्वाधिक ३ विकेट हात पार्दा अलिशा खडियाले २ विकेट लिए । रुविना क्षेत्री र निशा शाहले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x