यू-१९ क्रिकेट विश्वकपमा प्रभाव पार्न सक्ने नेपाली खेलाडी
एसिया कपमा भोगेको पराजयको बदला लिने अवसर
तस्बिरः क्यान
काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकप औपचारिक रूपमा जनवरी १९ तारिखदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपमा दक्षिण अफ्रिकासँगै नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिकाले सहभागिता जनाउँदैछन् ।
विश्वकपका लागि नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।
नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी २१ मा खेल्ने तालिका रहेको छ । त्यसैगरी, समूह चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तय भएको छ ।
विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा १५ सदस्यीय टिम दक्षिण अफ्रिका पठाएको छ ।
विश्वकपमा एकै समूहमा रहेका पाकिस्तान र अफगानिस्तानविरुद्ध केही हप्ताभित्रै नेपालले दोस्रोपटक खेल्दैछ । गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न एसीसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तान र अफगानिस्तानविरुद्ध खेल्ने अवसर पाएको थियो ।
तर, एसिया कपमा भने नेपालले पाकिस्तान र अफगानिस्तान दुवै टोलीविरुद्ध पराजय भोगेको थियो । पाकिस्तानसँग ७ विकेटको पराजय बेहोरेको नेपालले अफगानिस्तानसँग ७३ रनले हार्न पुगेको थियो ।
दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा भने नेपालले एसिया कपमा भोगेको पराजयको बदला लिने अवसर पनि पाएको छ ।
हुन् त यू-१९ विश्वकपमा नेपालले न्यूजिल्यान्डसँगै दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डजस्ता टिमलाई पराजित गरेको गरेको इतिहास छ ।
सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो भने सन् २००२ मा न्यूजिल्यान्डमा भएको विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो ।
र, दक्षिण अफ्रिकाको विश्वकपमा पाकिस्तान र न्यूजिल्यान्डविरुद्ध उक्त इतिहास दोहोर्याउने अवसर पनि नेपालसामु छ ।
तर, त्यसका लागि नेपाली खेलाडीहरूले एसिया कपमा गरेको भन्दा उच्च स्तरको प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपाली टिममा भने उच्च स्तरको प्रदर्शन गर्न सक्ने क्षमता भएका खेलाडी पनि छन् र उनीहरूले विश्वकपमा आफ्नो क्षमतालाई देखाउन सक्नुपर्छ ।
खासमा दक्षिण अफ्रिकाको विश्वकपमा नेपालका लागि कप्तान देव खनालसँगै गुल्सन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ताले उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि देव, गुल्सन, अर्जुन र दुर्गेशले यू-१९ विश्वकपमा आफ्नो प्रभाव छाड्न सक्ने विश्लेषण गरेको छ ।
कप्तान देवले नेपाली सिनियर टिमबाट १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय समेत खेलिसकेका छन् । उनले एकदिवसीयमा २ सय ५३ रन जोड्दा एकै खेलमा सर्वाधिक ७२ रन समेत बनाएका छन् ।
यता, गुल्सनले भने नेपालका लागि २४ एकदिवसीय अन्तर्राष्ट्रिय तथा १४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
गुल्सनले २४ एकदिवसीय अन्तर्राष्ट्रियमा २१ विकेट हात पार्नुका साथै ४ सय ८८ रन पनि बनाएका छन् । तीन अर्धशतक पूरा गरेका गुल्सनले एकै खेलमा सर्वाधिक ६७ रनको योगदान गरेका छन् ।
त्यसैगरी, गुल्सनले १४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा १२ विकेट लिनुका साथै १ सय ४१ रन पनि बनाएका छन् । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक ५४ रन पनि जोडेका छन् ।
अर्कोतर्फ, नेपाली यू-१९ टिमका ओपनर अर्जुन कुमालले पनि यू-१९ अन्तर्राष्ट्रियमा राम्रै प्रदर्शन गर्दै आएका छन् ।
एसीसी एसिया कपमै उनले अफगानिस्तानविरुद्ध ९१ रन बनाएका थिए । त्यसैगरी, पाकिस्तानविरुद्ध २१ रन जोडेका थिए । विश्वकपअघि शनिबार भएको अभ्यास खेलमा नेपालका लागि अर्जुनले ३३ रन बनाएका थिए ।
फास्ट बलर दुर्गेशले भने घरेलु प्रतियोगितामा आफ्नो प्रभाव छाड्न सफल भएका छन् । नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाइटेडबाट खेलका दुर्गेशले पोखरा एभेन्जर्सविरुद्ध ३ विकेट हात पारेका थिए ।
काठमाडौँ नाइट्सविरुद्ध २ विकेट लिएका दुर्गेशले विराटनगर सुपर किंग्सविरुद्ध पनि १ विकेट हात पारेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया