क्रिकेट

सन्दीपको शतकमा एपीएफ विजयी, गण्डकीमाथि कर्णालीको शानदार जित

इकागज |
पुस २९, २०८० आइतबार १६:४६ बजे

तस्बिरः क्यान

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब र कर्णाली प्रदेशले विजयी सुरुवात गर्दा बागमती प्रदेश र गण्डकी प्रदेशले लगातार दोस्रो पराजय भोगेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो ।


एपीएफले पहिलो खेल जित्दा बागमतीको भने यो लगातार दोस्रो पराजय हो । शनिबार भएको खेलमा बागमतीले नेपाल पुलिस क्लबसँग ६८ रनको पराजय भोगेको थियो ।

आइतबारको खेलमा २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन तथा आशुतोष घिराइयाले ४१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

एपीएफका कप्तान रोहित पौडेलले सर्वाधिक ४ तथा अविनाश बोहरा र मौसम ढकालले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सन्दीप जोराको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रन बनायो ।

सन्दीपले १ सय १७ बलमा ७ चौका र ५ छक्काको मदतमा १ सय १२ रन बनाए । बागमतीका लागि सूर्य तामाङले ३ तथा प्रतिश जिसी र रिजन ढकालले समान २-२ विकेट हात पारे ।

अर्कोतर्फ भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले पराजित गर्‍यो । जारी प्रतियोगितामा कर्णालीको यो विजयी सुरुवात हो भने गण्डकीको लगातार दोस्रो पराजय हो ।

शनिबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकीलाई ४ विकेटले पराजित गरेको थियो ।

आइतबारको खेलमा १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा केवल ३ विकेटको क्षतिमा पूरा गर्यो । कर्णालीको जितमा हिमान्सु शाहीले सर्वाधिक ५३ रन तथा निश्चल रावलले २९ रन बनाए ।

गण्डकीका लागि अंकित न्यौपानेले २ तथा विपिन खत्रीले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले तय गरिएको ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१-२१ रन बनाए ।

कर्णालीका लागि अनुज चनरा, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x