क्रिकेट

आर्मीका लागि विनोदको शतक, सुदूरपश्चिमको जितमा नारायण नायक

इकागज |
माघ १, २०८० सोमबार १६:४४ बजे

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई १ सय २६ रनले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । यसअघि मधेशले भने पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।


सोमबारको खेलमा भने ३ सय २१ रनको विशाल लक्ष्य पछ्याएको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९४ रनमात्र बनाउन सक्यो ।

मधेशका लागि पवन सर्राफले ६५ रन तथा मयक यादवले ३४ रन र राजेश यादवले ३२ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन ।

मधेशलाई सस्तैमा समेट्न आर्मीका शहाब खानले सर्वाधिक ४ तथा सोमपाल कामीले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २० रन बनाउँदा कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका थिए ।

विनोदले ९३ बलमा १ सय १३ रन बनाउँदा ९ चौका र ६ छक्का हिर्काए । सन्तोष कार्कीले ४२ रन तथा कुशल मल्ल र विवेक यादवले समान ३७-३७ रन जोडे ।

मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ तथा विशाल पटेलले २ विकेट हात पारे । रुपेश सिंह र राजेश यादवले १-१ विकेट लिए ।

यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सोमबारको खेलमा लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमलाई जित दिलाउन शेर मल्लले अविजित ४२ रन तथा नारायण जोशीले अविजित २८ रन बनाए ।

लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन तथा मोहम्मद हुसेनले २६ र विराट भण्डारीले २३ रन जोडे ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३ तथा भोजराज भट्ट र नरेन साउदले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x