क्रिकेट

यू-१९ विश्वकप : आज नेपाल र अफगानिस्तान भिड्‌दै, सुपर सिक्समा पुग्‍न जित्‍नैपर्ने दबाब

इकागज |
माघ १२, २०८० शुक्रबार ६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दैछ ।

समुह 'डी'मा रहेको नेपालको यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि शुरु हुँदैछ ।


नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार  ब्यहोरेको थियो ।  

अहिलेसम्म समुह 'डी'मा न्यूजिल्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार  ब्यहोरेका हुनाले आज हुने खेलको विजेता समुह 'डी'बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुनेछ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । 

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिएका छन् । यस विश्वकपमा १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । समुह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्नेछन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह 'बी'मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह 'सी'मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह 'डी'मा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्ड र नेपाल रहेका छन् ।

विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापामगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।


Author

थप समाचार
x