आर्मी फाइनलनजिक पुग्दा सुदूरपश्चिमका भोजराजको ६ विकेट गयो खेर
तस्बिरः क्यान
काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमलाई ९७ रनले पराजित गर्दै आर्मीले फाइनलको सम्भावना बलियो बनाएको हो ।
जारी प्रतियोगितामा ८ खेल खेलेको आर्मीले १२ अंक जोडेको छ । यता ९ खेल खेलेको बागमती प्रदेशको १२ अंक भएपनि नेट रनरेटका आधारमा आर्मी दोस्रो स्थानमा उक्लिएको छ । यता खेलेको ७ वटै खेल जित्दै नेपाल पुलिस क्लब भने शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ ।
यता ७ खेल खेलेको सुदूरपश्चिमको भने यो तेस्रो पराजय हो । उसले ८ अंक जोडेको छ ।
सोमबारको खेलमा २ सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४० ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनमात्र जोड्न सक्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
सुदूरपश्चिमको इनिङ्स धराशायी बनाउन आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६२ रन बनाए । आर्मीका लागि कुशल मल्लले ७५ तथा सन्दीप रजालीले ३७ र बसिर अहमदले ३६ रन बनाए ।
सुदूरपश्चिमका भोज राज भट्टले सर्वाधिक ६ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन । नरेन साउदले ३ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया