क्रिकेट

आर्मीलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

इकागज |
माघ २०, २०८० शनिबार १६:१० बजे

काठमाडौँ- नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । प्रतियोगितामा पुलिसले खेलेको १० वटै खेलमा जित हात पारेर उपाधि जितेको हो ।


शनिबारको फाइनलमा १ सय ८२ रनको लक्ष्य पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसलाई जित दिलाउन शंकर राणाले ४३ बलमा ५ चौका र ४ छक्काको मदतमा अविजित ६२ रन बनाए । आरिफ शेख २७ रनमा अविजित रहे । अर्जुन साउदले ३६ रन तथा अमित श्रेष्ठले २८ रनको योगदान गरे ।

आर्मीका लागि बसिर अहमद, शहाब आलम, कुशल मल्ल र जितेन्द्र मुखियाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको एक बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ८१ रन बनायो ।

आर्मीका लागि विवेक यादवले ६३ रन, सोमपाल कामीले ३९ रन तथा इमरान शेखले २८ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।

पुलिसका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान ३-३, कुशल भुर्तेल, सागर ढकाल र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x