क्रिकेट लिग-२
नेदरल्यान्ड्सलाई हराउँदै नामिबियाले जित्यो सिरिज
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो ।
यसअघि आफ्नो पहिलो खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको थियो । जारी सिरिजमा नेदरल्यान्ड्सको यो दोस्रो हार हो ।
नामिबियाको भने यो तेस्रो जित हो । यससँगै चारमध्ये एक खेलमात्र हारेको नामिबियाले सिरिज पनि जितेको छ ।
नेदरल्यान्ड्सले अन्तिम खेल नेपालविरुद्ध आइतबार खेल्ने तालिका रहेको छ । नेपालले भने ३ मध्ये १ खेलमा मात्र जित हात पारेको छ ।
शुक्रबारको खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७९ रनमात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका लागि नोआह क्रोएसले ४६ रन तथा म्याक्स ओ'दाउदले ४१ रन बनाए । नामिबियाका लागि जेरहार्ड इरासम र जान फ्रायलिन्क समान ३-३ र बर्नार्ड स्कोल्जले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ४१ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रन बनायो ।
नामिबियाका लागि जान निकोलले ४९ रन, मलन क्रुकरले ३९ रन तथा जान फ्रायलिन्कले ३४ रन बनाए ।
नेदरल्यान्ड्सका लागि भिभियन किंग्माले सर्वाधिक ३ तथा आर्यन दत्त र रोएलोफ भानले २-२ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया