क्रिकेट

वेस्ट इन्डिजका प्रशिक्षक सामी भन्छन्- नेपाल टूरले विश्वकप टिम थप परिष्कृत हुनेछ

इकागज |
बैशाख १२, २०८१ बुधबार ८:५५ बजे

काठमाडौँ- वेस्ट इन्डिज क्रिकेट टिमका प्रशिक्षक डरेन सामीले 'ए' टिमको नेपाल भ्रमणले आफ्नो विश्वकप टिम थप परिष्कृत हुने बताएका छन् ।

वेस्ट इन्डिज 'ए' टिमको नेपाल भ्रमणको विषयमा आइसीसीसँग कुरा गर्दै प्रशिक्षक सामीले नेपालको ऐतिहासिक भ्रमणले विश्वकप टिम बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गरेका हुन् ।


वेस्ट इन्डिज 'ए' टिमले पहिलो पटक नेपाल भ्रमण गर्दैछ । भ्रमणका क्रममा वेस्ट इन्डिज 'ए'ले नेपालमा ५ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

नेपाल आउने खेलाडीमा फेबियन एलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर र हेडेन वाल्श जस्ता अनुभवी खेलाडी रहेका छन् भने टिमको कप्तानी रोभमन पावेलले गर्दैछन् ।

वेस्ट इन्डिजका ह्वाइट बल प्रशिक्षक ड्यारेन सामीले भनेका छन्- 'नेपाल भ्रमणले हामीलाई हाम्रो टी-२० विश्वकप टोलीलाई परिष्कृत गर्ने, भूमिका स्पष्ट गर्ने मौका दिनेछ । साथै हाम्रा ९ खेलाडी अहिले आईपीएल खेलिरहेकाले हाम्रो टी-२० टिमको गहिराई र यसको सीमा नाप्न सहयोग पुग्ने छ ।'

नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिम रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलिने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।

प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- निल ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज 'ए'बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल दिउँसो १ बजेदेखि शुरु हुनेछन् ।


Author

थप समाचार
x